विगत केही वर्षमा मैले क्यान्सर लागेका मानिससँग संगत गर्ने र त्यसमै अनुसन्धान गर्ने अवसर पाइरहेको छु । म यो समयमा प्रत्यक्ष देखेका र भोगेका कुरा सेयर गर्न चाहन्छु ।
म शरीरको प्रतिरक्षा प्रणाली (इम्मुन सिस्टम) लाई कसरी निर्देशित गर्‍यो भने क्यान्सरलाई जित्न सकिन्छ होला भन्ने बिषयमा अनुसन्धान गर्दै छु । क्यान्सर लागिसकेका मान्छेहरूलाई उपचार गरिसकेपछि म फलोअप गर्ने गर्छु प्रत्येक ६ महिनामा । क्यानडामा रहेको यो क्यान्सर केयर केन्द्रमा मैले केही यस्ता चिजहरू देखेँ जुन कुराहरूले मलाई जिन्दगी को यथार्थ हरेक दिन सम्झाइरहेको हुन्छ । संसारभरि नै प्राय: क्यान्सरको उपचार प्रमुख रूप मा तीन प्रकारले गर्ने गरिन्छ । सर्जरी, केमोथेरापी र रेडिएसन प्रयोग गरेर । अवस्था हेरेर छुट्टा-छुट्टै वा संयुक्त रूपमा यी तीन उपचार विधि प्रयोग गरिन्छ जसलाई हाम्रो क्षेत्र मा 'मल्टि-मोडालिटी ट्रिटमेन्ट' भन्ने गरिन्छ । संसारको यति विकसित देशमा भइरहेको उपचारको नतिजा चाहिँ हर्ष गर्ने ठाउँमा छैन । किन भने दुई बर्षअगाडि भेटेका केही क्यान्सर लागेका बिरामीले अहिले संसार छाडेर बिदा भइसकेका छन् भने केही जिन्दगीका अन्तिम् दिन बाँच्दै छन् ।
क्यान्सर रोगको पहिचान भइसकेपछि प्राय: बिरामीहरू एकदमै रोएको देख्छु । यहाँको समाज हरेक हिसाबले इन्डिपेन्डेण्ट छ र प्राय: बिरामी एक्लै अस्पताल आउने गर्छन् । उनीहरुका छोराछोरी वा आफन्त कुनै अर्को सहर वा कुनै अर्को देशमा काम गरिरहेका हुन्छन् र उनको नजिकको मान्छेलाई क्यान्सर लागेको छ भन्ने थाहा पाउँदा पनि उनीहरू काम छोडेर आउन सक्दैनन् किनभने यहाँ कामलाई पहिलो प्रथमिकतामा राखिएको हुन्छ । त्यो एक्लो मानिस जसलाई भर्खरै डाक्टरहरूले क्यान्सर लागेको जानकारी गराएपछि रुँदै एलिभेटरमा एक्लै आफ्नो आँसु पुछिरहेको प्राय: हरेक दिन देख्छु । पहिलोचोटि उसलाई क्यान्सर लागेको छ भन्ने थाहा पाएपछि प्राय: मानिसहरू विश्वाश गर्दैन रहेछन् र होइन होला वा नहुनुपर्ने हो भन्नेजस्ता विषयमा जोड दिँदो रहेछ । तर दोस्रोचोटि जब त्यो क्यान्सर बिरामी अस्पताल आउँदो रहेछ, अलि सम्हालिएर आउँदो रहेछ । किनभने त्यो अन्तरालमा त्यो व्यक्तिले आफूलाई क्यान्सर लागेको छ भन्ने स्वीकार गर्दो रहेछ र भएभरका ओखती गरेर निको पार्न सकिन्छ भन्ने विश्वास गर्दो रहेछ । तर संसारभर अपनाइने विधि भनेको प्राय: एउटै हो र 'फाइव इयर सरभाइवल रेट' भन्ने गरिन्छ जुन क्यान्सर लागेपछि कति बिरामीहरू ५ बर्षसम्म बाँचे भन्ने हो, त्यो यहाँ पनि थोरै छ । यसको प्रमुख निर्धारण क्यान्सर कुन चरण मा गएर पत्ता लाग्यो भन्नेले पनि निर्धारण गर्छ । मनिषा कोइरालाको क्यान्सर निको भयो भन्नुको अर्थ उनले चेक गराएको अस्पतालले गर्दा हो भन्नुमात्र सही होइन, पहिलो कुरा उनको क्यान्सर कुन चरणमा थियो भन्ने हो । गहिरिएर भन्ने हो भने क्यान्सर अति डायनामिक रोग हो र एउटा मान्छेलाई जुन विधिले निको हुन्छ अर्कोलाई पनि त्यही गर्दा ठिक हुन्छ भन्ने पनि छैन । नेपाल र भारतबाहेक अमेरिका वा क्यानडामा उपचार गर्दैमा रोग निको हुन्छ भन्ने पनि होइन । त्यस्तो हुँदो हो त एप्पल मालिक स्टिभ जब्स आजसम्म बाँचेका हुनुपर्ने थियो । कुन क्यान्सर र त्यस्को ५ वर्षसम्म सरभाइबल रेट कति छ भन्नेले त्यो क्यान्सर कस्तो भयानक हो भन्ने कुरा बुझ्न सकिन्छ ।
म अध्यरनरत विभागका प्रमुख पनि क्यान्सर रोगले पीडित छन् र केही महिनादेखि उनी जिन्दगीका अन्तिम दिनहरू घरमै बिताइरहेका छन् । उनकी श्रीमतीले उनको स्वास्थ्य अवस्थाबारे बेलाबेला ब्लगमार्फत अपडेट दिने गर्छिन् र उनी आखिरी दिनहरू कसरी सकेसम्म बाँचेर बिदा हुँ भन्नेमा ध्यान दिँदैछन् र उनीहरूलाई कोको भेट्न गए र उनीहरूले केके गरे भन्ने जानकारी गराउँछिन् । उनको घरमा उनी र क्यान्सरपीडित श्रीमानमात्र छन् । छोराछोरीहरू अर्कै देश र अर्कै सहरमा छन् । ती प्रोफेसरले आफ्नो जिन्दगी चाहिँ शरीरको प्रतिरोधात्मक प्रणाली (इम्मुन सिस्टम) ले कसरी रोगहरूसँग लड्न सक्छ भन्ने अनुसन्धानमै बिताए र क्यान्सर रोग लाग्दा आफ्नै शरीरको केही इम्मुन सेल्सहरू क्यान्सरसँग लड्ने नभएर क्यान्सर अझ धेरै फैलिन पनि मद्दत गर्छन् भन्ने राम्रै जानकारी राख्ने गर्छन् । आफ्नै शरीरको इम्मुन सिस्टम चाहिँ दोहोरो रूप धारण गर्छ क्यान्सरको एउटा निश्चित चरण पार गरेपछि । कैलेकाहिँ समाचारहरूमा आउने गरेका क्यान्सरसम्बन्धी आउने बायो-बेस्ड औषधीले सबै क्यान्सर लागेका बिरामीलाई निको पार्छ भन्ने होइन । केही बर्षअघि ट्रायल गरिएको एउटा औषधीले १५ जनामा २ जनालाई ठिक पारेको रिपोर्ट आएको थियो । अझ हिजोआज “क्यान्सर स्टेम सेल्स” को कुरा आउँदै छ । त्यो भनेको सबै क्यान्सर सेल्सहरूले क्यान्सर फैलाउने नभएर केही सेल्सहरूमात्र क्यान्सर फैलाउन काफी हुन्छन् र ती सेल्सहरूलाई चिन्न अझै गार्है छ । समग्रमा भन्नुपर्दा नेपाल र भारतमा ध्यानपूर्वक हुने गरेका क्यान्सर उपचार र भन्दा क्यानडा र अमेरिकामा हुने क्यान्सर उपचारमा प्रयोग हुने विधि उही हो, फरक यहाँ बिरामीहरूलाई अस्पतामा अति सम्मानसाथ उपचार गरिन्छ र सिस्टममा उपचार गरिन्छ तर नतिजामा खासै फरक छैन । प्रयोगशालामा गरिएका अनुसन्धानहरू अझसम्म बिरामीका बेडसम्म पुगेका छैनन् तर प्रयास जारी छ । मनिषा कोइरालाको सवालमा उनको क्यान्सर कुन स्टेजमा थियो र उनको जस्तो क्यान्सर लागेको मानिस कति वर्षसम्म बाँचेका छन् भन्नेमा ध्यान दिन जरुरी छ । मनिषा कोइरालाको उपचार अमेरिकामा ठीक भएको हुँदा सबै मान्छेको त्यहीँ ठिक हुन्छ भन्ने होइन । मैले अघि स्टिभ जब्सको उदाहरण दिएँ । अपबादहरू छाडेर समग्रमा कुरा गर्ने हो भने उपचारको विधि लगभग एउटै हो । तर कुनै क्यान्सर बिरामी कुनै औषधी पत्ता लगाउने क्रममा त्यस्को क्लिनिकल ट्राइलमा बस्न चाहन्छ भने त्यो बेग्लै कुरा हो ।
अब मरिचमान सिंह र डा. वाग्लेको अवस्थातिर फर्कन चाहन्छु । करिब ७५ लाख रुपैयाँ खर्च गरेर मरिचमान सिंह कति लामो समय बाँचे? कति खर्च गर्ने भन्ने कुनै परिवारको निजी कुरा होला तर चान्चुन १ करोड खर्च गरेर केही समय आफू बाँच्ने वा त्यो पैसा ले आफ्ना सन्तान हरू को भविश्य मा खर्चिने भन्ने मरिचमान परिवारले सोचे वा सोचेन । हो, यो सही हो आफ्नो सन्तान र आफ्नो परिवार पैसासँग तुलना गर्न मिल्दैन । तर यो ढिलोचाँडो जाने निश्चित भइसकेपछि अब बाँकी समय कसरी बिताउने र आफ्नो रोगको पूर्ण जानकारी पाएपछि डाक्टरहरूको सल्लाहमा उपयुक्त र ब्यवहारिक निर्णय लिन उपयुक्त हुन्छ । डाक्टर वाग्लेको अवस्थामा चाहिँ उहाँको क्यान्सरको कुन चरण हो र त्यस्को सरभाइवल रेट कति छ भन्ने उहाँ स्वयम् डाक्टर भएको हुँदा उहाँलाई अवगत हुनुपर्छ होला । त्यसो हुनाले उहाँको अवस्था अलि जटिल र उल्लेख गरेका विधिले नहुने भए उहाँसँग एउटा उपाय भनेको त्यही क्यान्सरसँग सम्बन्धित क्लिनिकल ट्रायलमा भाग लिनु हो र यो नेपालमा सम्भव नहुने हुँदा र विकसित देशमा उपचार खोजिनु यस्तै विकल्पको बाटो भनुँ वा अपवादको बाटोको यात्रा तय गर्नु हो ।
राज्य ले नसुनेको अवस्थामा निजी क्षेत्रले बरु ती नानीहरूको उच्च शिक्षाको जिम्मेवारी डाक्टर वाग्लेको घरमै गएर लिइदिएर र डाक्टरकि श्रीमतीको कतै रोजगारी नभएको भए उहाँलाई पनि कुनै संस्थाले रोजगारको व्यवस्था गरे डा. वाग्लेले गाउँमा बसेर बिरामीहरूको सेवामा पुर्‍याएको योगदानलाई नेपाली समाजले थोरै भए पनि फिर्ता गर्ने कर्तव्य पूरा गर्ने हो कि ! यत्रो हुँदा पनि ट्वाल्ल हेरेर बस्ने सरकारको त के कुरा गर्नु र?
-दीपक उप्रेती
-उप्रेती क्यानडामा पिएचडी अध्ययनरत छन् । अहिले क्यान्सरका बिरामीसँग काम गरिरहेका छन्।